एउटा सानो कोठा, र त्यहाँका भित्ताहरू भन्दा पनि पुराना यादहरू। त्यहाँ एकजना मानिस बस्थ्यो, जसको संसार एउटा कुर्सी*मा खुम्चिएको थियो। उसको लागि बस्नु कुनै रहर वा अल्छिपना थिएन, बरु त्यो त समयले उसलाई उपहार दिएको एउटा कठोर ‘नियति’ थियो। दिनभरि त्यही स्टिल र फाइबरको कुर्सीमा टाँसिएर रहँदा, कुर्सी उसको शरीरको एउटा हिस्सा जस्तै भइसकेको थियो- एक मौन साथी, जसले उसको सबै पीडालाई बिना गुनासो थामिदिन्थ्यो।

एकदिन, उसको एकजना अनन्य मित्रले एउटा भव्य कार्यक्रमको आयोजना गरे- आफ्ना गुरुहरूलाई सम्मान गर्ने ‘गुरु सम्मान कार्यक्रम’। मित्रले निकै आदरपूर्वक उसलाई अतिथिको रूपमा निम्तो दिए।

उसलाई त्यो समारोहमा पुगेर आफ्ना साथीभाइ र आदरणीय गुरुहरूलाई भेट्ने तीव्र इच्छा थियो। तर, जब उसले आफ्नो शरीरलाई हेर्यो, उसको बलियो इच्छाशक्ति पनि उसका गोडाजस्तै शिथिल भयो। प्रतिकूल स्वास्थ्यले उसलाई कोठाको चौघेराभन्दा बाहिर निस्कने अनुमति दिएन। उ जान सकेन।

कार्यक्रम सकिएपछि, एकजना मित्रले उसलाई एउटा तस्विर पठाए। तस्विरमा भीड थियो, उज्यालो थियो र गुरुहरूको मुस्कान थियो। तर ती सबैको बीचमा एउटा खाली कुर्सी थियो। त्यो कुर्सीको अगाडि एउटा कागज टाँसिएको थियो, जसमा उसले स्पष्ट अक्षरमा उसको नाम लेखिएको देख्यो।

उसका आँखा टिलपिल भए। उ त्यहाँ शरीरले उपस्थित थिएन, तर उसका मित्रले उसलाई त्यहाँ नभएर पनि भएको महसुस गराइछाडे। त्यो रित्तो कुर्सीले उसलाई गिज्याइरहेको थिएन, बरु भनिरहेको थियो, ‘तिमी यहाँ नभएर पनि छौ।’

त्यो साँझ, उसको गाला हुँदै दुई थोपा आँशु झरे। एउटा थोपा आफू समारोहमा उपस्थित हुन असक्षम रहेको दुःखको थियो भने, अर्को थोपा हर्षको थियो, खुसीको थियो। त्यो रित्तो कुर्सी सायद त्यस दिनको सबैभन्दा भरिएको ठाउँ थियो।

*ह्विलचेयर

तपाईँको मनमुटुमा सधैँ यसरी नै बस्न पाइरहुँ, जहाँ कुनै कुर्सी, सोफा वा खाटको दरकार पर्दैन। निमन्त्रणाका लागि अति नै आभारी छु। हजुरको हार्दिक निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित हुन असमर्थ भएकोमा क्षमाप्रार्थी छु, मित्र। साथै जन्मदिनको अवसरमा हजुरको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *