
मुसिकोटको वामीटक्सारमा ‘चौथो नौमती सांस्कृतिक महोत्सव’ को रौनक छाइरहँदा मेरो मन भने खुसी र पीडाको दोसाँधमा रुमल्लिरहेको थियो। कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा आयोजक र अहोरात्र खट्नुहुने सबैमा नमन गर्दछु।
तर, जिन्दगी सोचेजस्तो कहाँ हुँदो रहेछ र? मेरो मुटुमा बस्न सफल संस्था ‘वामी-विश्व सम्पर्क मञ्च’ को मायालु निम्तो शिरोपर गरेर पनि म त्यहाँ उपस्थित हुन सकिनँ। दुई वर्षअघि सोही मञ्चमा पुग्दाको त्यो उर्जा र आज ओछ्यानबाट उठ्न पनि नसक्ने मेरो यो अवस्था— सम्झिँदा मात्र पनि भकानो छुटेर आउँछ। दिनानुदिन कुँजिदै गएको यो शरीर र बिग्रँदो स्वास्थ्यले मलाई पलपल तर्साइरहेछ। कहिलेकाहीँ त लाग्छ– के अबका दिनमा म ह्विलचेयरमा बस्नलायक पनि रहने छैन र? यो प्रश्नले निद्रा खोस्ने गर्छ।

म मञ्चसम्म पुग्न नसके पनि, मञ्चको माया मेरो घरसम्मै आइपुग्यो। संस्थाका अध्यक्ष श्री बैकुण्ठ रायमाझी ज्यू लगायतका पदाधिकारीहरूले मेरो निवासमै आएर मलाई जुन सम्मान र मायाको चिनो प्रदान गर्नुभयो, त्यसले मेरो पीडामा मलम लगाउने काम गरेको छ। साथै, सात समुद्र पारि रहेर पनि संस्थाका महासचिव श्री हेमनाथ खराल ज्यूले देखाउनुभएको अगाध स्नेह र विश्वास मेरा लागि अमूल्य छ।
मेरो यो अशक्त शरीर र अनगिन्ती सीमाहरूका बाबजुद मलाई सम्झिने, घरमै आएर हौसला दिने र टाढैबाट भए पनि मुटुमा राख्ने तपाईंहरूप्रति म शब्दमा कृतज्ञता व्यक्त गर्न सक्दिनँ। तपाईंहरूको यो निस्वार्थ प्रेम नै मेरो जिउने सहारा हो।