गत कार्तिक ३ र ४ गते मुसिकोट नगरपालिकाको वामीटक्सारस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा ‘चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला’ भव्यताका साथ सम्पन्न भयो। यस कार्यक्रमलाई भव्य बनाउन अहोरात्र खट्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
जीवनको भोगाइले कहिलेकाहीँ मानिसलाई निकै भावुक बनाउँदो रहेछ। मेरो अति प्रिय संस्था ‘वामी-विश्व सम्पर्क मञ्च’ को निमन्त्रणा स्वीकार गरेर पनि स्वास्थ्य र शारीरिक प्रतिकूलताका कारण म महोत्सव स्थलमा उपस्थित हुन सकिनँ। दुई वर्षअघि कार्यक्रममा पुग्दाको उत्साह र अहिलेको कमजोर शारीरिक अवस्थाले मलाई कताकता विक्षिप्त बनायो। दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य जटिलता र कुँजिदै गइरहेको शरीरका कारण आगामी दिनहरूमा म ह्विलचेयरमा बस्न पनि सक्छु कि सक्दिनँ भन्ने चिन्ताले सताउन थालेको छ।

कार्यक्रम स्थलमा जान नसके पनि संस्थाका अध्यक्ष श्री बैकुण्ठ रायमाझी ज्यू लगायत पदाधिकारीहरुले मेरो निवासमै पाल्नुभई मायाको चिनो प्रदान गर्नुभयो। संस्थाका महासचिव श्री हेमनाथ खराल ज्यू हाल विदेशमा रहनुभएकोले सशरीर उपस्थित हुन नसके पनि उहाँले मप्रति देखाउनुभएको सद्भाव र विश्वासका लागि म सधैं आभारी छु।
मेरा अनेक सीमाहरूका बाबजुद मलाई सम्झिएर घरमै सम्मान प्रदान गर्नुहुने अध्यक्ष ज्यू र टाढा भएर पनि मलाई हृदयमा राख्नुहुने महासचिव ज्यू दुवैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूको यो निस्वार्थ प्रेम र विश्वास सदैव कायम रहनेछ भन्ने आशा लिएको छु।